8/24/11

व्यापारीवर्गको प्रसिद्ध जात्रा : भीमसेन जात्रा

उपत्यकाका तीन शहरहरुमध्ये ललितपुर शहरको आफ्नो छट्टै पहिचान रहेको छ  । यही शहरभित्र पर्ने पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । यही दरबार क्षेत्र भित्र पर्ने भीमसेनको मन्दिर मल्लकालीन काष्ठकला र धातुकलाको अनुपम नमुनाको रुपमा रहेको छ । मल्लकालीन राजा श्रीनिवास मल्लले नेपाल सम्वत ८०१ (वि.सं. १७३८) मा यस मन्दिरको मूलद्वारको दाहिने पट्टीको शिलालेखले प्रतिविम्वीत गरिरहेको छ ।
 
प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले यो मन्दिर ज्यादै सुन्दर एवं आकर्षक रहेको छ । मन्दिरको माथिल्लो छाना सुनको मोलम्बा र त्यस मुनिका दुईवटा छानाहरु झिगँटीले छाएका छन् । भैरवको एक अवतारको रुपमा मान्ने गरिएको यस भीमसेन मन्दिरको पुरानो नाम मणिभैरव हो । पूर्वाभिमुख अवस्थामा रहेको यस मन्दिरको दोस्रो तल्लामा मुख्य भीमसेनको देवागार रहेको छ । साथै यसै तल्लामा भीमसेन, भैरव, द्रोपदी र वालीका गरी चारवटा मूर्तिहरु रहेको छ । सुनको संख्या र टुँडालहरुमा धातु निर्मित विभिन्न किसिमको भैरव मूर्तिहरुले यस मन्दिरको तेस्रो अर्थात माथिल्लो तल्लामा भीमसेनको सबभन्दा पुरानो मूर्ति रहेको छ ।

नेपाली व्यापारीवर्गहरु भीमसेनलाई व्यापारीको प्रयाप्त वा प्रतिकको रुपमा दिने गर्छन् । महाभारत र पुराणहरुमा बल, साहसी र बहादुरीको प्रतिकको रुपमा देखापर्ने भीमसेन नेपालमा व्यापार र वाणिज्य क्षेत्रका प्रमुख देवताका रुपमा कहिले र कसरी प्रवेश भयो भन्ने कुनै आधारिकारीक प्रमाण प्राप्त भएको छैन । तर प्राचीन समयमा नेपालीको वेदैशिक व्यापारको सिलसिलादेखि नै यसको प्रवेश भएको हुनुपर्छ भन्दा आमजनमासको धारणा रहेको पाइन्छ । वैदेशिक व्यापारको क्रममा कठिन पहाड, खोलानाला घनाजंगल पार गरेर जानुपर्ने र फर्कदा बाटोमा चोरी डकेतीको भय जङ्गली जनावरहरुको सामना गर्नका लागि बल, साहस र बहादुरीको आवश्यक पर्ने कुरा विचारणीय छ । तसर्थ यस्तो अवस्थामा भीमसेन सम्बन्धी कतिपय लोककथा र किंवदन्तीहरुबाट पनि हामी थाहा पाउन सक्छ ।
 
नेपालमा अरु देवीदेवताहरुको जात्राहरुजस्तै भीमसेनको पनि जात्रा गरिन्छ । हरेक वर्ष भाद्र कृष्णदशमीको दिन भीमसेन पुजा अथवा भीमसेन जात्रा गरिन्छ । मुख्यगरी नेवार समुदायको बाहुल्यता रहेको छ । व्यापारीवर्गको महत्वपूर्ण  र प्रसिद्ध जात्राको नामले भीमसेन जात्रालाई चिनिन्छ । यो जात्रा विशेष रुपमा पाटनमा अवस्थित भीमसेनको जात्राको रुपमा  प्रचलित रहेको छ । उपत्यकाका व्यापारीहरु यस जात्रामा सहभागी हुन जात्राको दिन भोजको कार्यक्रम सहित समूह समूहमा पाटन दरवार क्षेत्रमा आएको पाइन्छ । राती हुने यस जात्रा भीमसेनको मूल मन्दिरको अगाडि रहेको डबलीबाट यस जात्राको शुभारम्भ गरिन्छ । जात्रामा सहभागी हुन पाटनका प्रत्येक टोल टोलबाट भजनमण्डली आउछ । खतमा भीमसेनको मूर्ति विराजमान गराई जात्रामा सहभागी जात्राहरु (विशेगागरी व्यापारीवर्ग) धूप धुटौरा र चित्रण बाली खतको अघि अघि हिड्छ । सो धूप धुपोटाले वातावरणलाई सुगन्धित बनाउँदछ । सो भीमसेनको खतलाई पाटनको मगंलबजार लगायत शहरका मुख्य मुख्य भागको परिक्रमा गराई सकेपछि फेरी सोही स्थान ल्याएर खत विसर्जन गरिन्छ । भीमसेन बल, साहसी र बहादुरीका देवताको रुपमा लोकप्रिय रहेकाले व्यापारीवर्गका साथै युवावर्गमा समेत यिनको प्रभावका साथै यस जात्राको प्रभाव विशेष रुपमा देखापरेको छ ।

No comments:

Post a Comment