8/6/11

आफ्नो पेशाबात बिमुख हुँदैछन : प्रजापती

– लक्ष्मी गारु

भक्तपुर, १९ साउन । माटोका भाँडा बिक्री हुन छाडेपछि भक्तपुरका प्रजापति थर व्यक्तिहरू परम्परागत पेसाबाट विमुख बन्दै गएका छन् ।

प्लास्टिकबाट बनाइएका सस्ता भाँडाले बजार जमाएपछि माटोका भाँडा बिक्री हुन छाडेकोले उनीहरू त्यो पेसाबाट विमुख बन्दै गएका हुन् । माटोको भाँडा बनाएर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने प्रजापतिहरूले अहिले आफ्नो पेसाबाट क्रमशः विस्थापित हुन थालेका छन् ।

भक्तपुर च्याम्हासिंहका ८२ वर्र्षीय कृष्णकुमार प्रजापति भन्नुहुन्छ ‘हाम्रो हातमा सीप र कला दुबै छ तर के गर्ने हामीले बनाएका भाँडामा उपभोक्ताको रुची घट्दै गएकोले यो पेसाबाट विमुख हुने स्थिति आएको छ ।

आठ वर्षअघि आफ्नो पेसाबाट १२ जनाको परिवार पाल्दैआएका कृष्णकुमारले अहिले पाँच जनाको परिवारपाल्न समेत धौधौ भएको बताउनुभयो । माटोको भाँडा बिक्री हुन छाडेपछि अहिले प्रजापति समुदायका नयाँ पुस्ता यो काम गर्न पटकै रुचाउँदैनन् ।

परम्परागत माटोको भाँडा बनाउने प्रजापति भक्तपुरको तालाक्व (कुमालेटोल), सूर्यमढी, निकोसेरा, बोडे, चपाचो, बालकुमारी, लोकन्थली, नगदेशलगायतका विभिन्न ठाउँ गरी करिब ४० जारको हाराहारीमा रहेका छन् ।

पहिला–पहिला प्रजापतिको माटोको भाँडा बनाउने पेसाले स्वदेशी मात्र नभएर विदेशी पर्यटकको मन चोर्न सफल भक्तपुरका स्थानीय काशीराम प्रजापतिले अहिले आएर आफ्नो सीप र कला हुँदाहुँदैै पनि उतार्न नपाउँदा बेरोजगार जीवन बाँच्नबाध्य भएको दुखेसो पोख्नुभयो ।

प्रमुख आयआर्जनको रूपमारहेको प्रजापतिको परम्परागत माटोको भाँडा बनाउने पेसा मानिसको जन्मदेखि मृत्युसम्ममा आवश्यक पर्दछ । तर आजभोलि यस्तो नभई नहुँने काममा मात्र मानिसले माटोको भाँडा प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैकारण परम्परागत माटोका भाँडा लोप हुँदै गएका छन् ।

सानै उमेरदेखि माटोलाई खेलाउँदै नयाँ–नयाँ स्वरूप दिँदै आएका बोडेका किरण प्रजापतीले अब त यो पेसाले जीउन निकै गाहे भएको बताउनुहुन्छ ।

यो पेसा अपनाए आफ्नो मात्र नभएर भावी सन्ततीको भविष्य समेत बिग्रिनेस्थिति आइसकेको छ । त्यसैले यसको वैकल्पिक पेसाको खोजी गरिरहेको समेत किरणले बताउनुभयो ।

पहिले जस्तो राम्रो माटो पाउन छोडेकोले भाँडाको गुणस्तरमा ह्रास आएकाले माग घट्दै गएकाले बजार खस्किन्दै गएको हो । माटोका भाँडाको ठाउँ प्लास्टिकका भाँडाले लिइरहेका कारण कुमाले पेसामा आश्रित भइरहेका कुमालेको रोजीरोटी समेत गुम्ने अवस्था सिर्जना
भएको छ ।

ज्यानको बाजी लगाएर कालोमाटो निकाल्छौ, छमहिना अगाडिदेखि माटो थन्को लगाउँछौ र त्यही माटोबाट भाँडा बनाउँछौ तर भाँडा बिक्री हुँदैन । आफ्नो परम्परागत पेसा भनेर के गर्ने जीवन धान्न साह्रै मुस्किल हुँदै आएको निकोसेराका प्रजापती बताउँछन् । माटोको भाँडा बिक्री वितरणमा ह्रास आउनुको प्रमुख कारण उपभोक्ताले माटोको भाँडा प्रयोग गर्दाको लाभ र यसका गुण थाँहा नहुँनाले माटोको सट्टा प्लास्टिकका सामान रुचाउनु हो ।

जसले गर्दा माटोको भाँडा प्रयोग गर्दाका लाभ उपभोक्तालाई जानकारी दिनुपर्ने अति आवश्यक छ । केही समययता विदेशी पर्यटको आवागमनमा वृद्धि हुनथालेपछि भक्तपुरका प्रजापतिले बनाइएका माटोका स–साना मूर्ति, पशुपक्षी, जनावर, पुतलीलगायतका पर्यटकीय आकर्षणका सामान भन्ने बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।

भाँडा बनाउने प्रजापतिको पूखाँैली पेसालाई जीवन्तता दिन प्रजापतिले समय सापेक्ष नयाँ–नयाँ वस्तु उत्पादन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सरकारले प्रजापतिको यो पेसालाई जीवन्तता दिन तथा नयाँपुस्तालाई अभिप्रेरित गर्न विशेष प्याकेज कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।

No comments:

Post a Comment