8/24/11

कृष्णाष्टमीको अवसरमा नेवारी पहिरण सहित शोभायात्रा

रविना
मध्यपुर, थिमि


कालो सारीमा रातो पारी (हाकुपरासी), त्यसमाथि १२ हाते पटुकी, शिरपक्षको घरबुना कपडाबाट सिलाएको चौवन्दी चोलोमाथि सेतो खास्तो, रातो टिका , गलाभरी माला अनि हातमा विभिन्न रङ्गका चुरा । नेवार महिलाहरुको यो परम्परागत पोशाक मध्यपुर थिमीका महिलाहरुले कमै मात्र लाउन पाएका छन् । 

भक्तपुरका जात्राहरुमा लगाइएको देखेका नेवार महिलाहरुको यो परम्परागत पोशाक मध्यपुर थिमीका महिलाहरुले कमै मात्र लाउन पाएका छन् ।

भक्तपुरका महिलाहरुले लगाएको देखेका र आफ्ना बज्यैहरुले लाएको थाहा पाएका थिमीलेहरुले सोमबार भने प्रत्यक्ष रुपमा सो पोशाकमा सजिने मौका पाए । खासगरी नेवारहरुमा पनि किसान परिवारका महिलाहरुको पोशाकको रुपमा चिनिएको सो हाकुपरासी, शिरपक्षको लुगा र सेतो खास्टोमा सजिन पाए पछि थिमिका महिलाहरुले धेरै वर्षपछि आफू नेवार भएको अनुभुति गर्न पाएका थिए ।

सोको अनुभुति गर्न पाउने मौका मध्यपुर थिमी इनाय टोलस्थित नारायण भजन मण्डलले जुराइ दिएको हो । श्री कृष्णाष्टमीको अवसरमा कृष्ण पूजा परिक्रमा तथा शोभा यात्राका दौरानमा थिमीका नवयुवतीहरु पहिलोपटक परम्परागत पहिरणमा सजिएका थिए ।

धिमे बाजा, धाँ बाजा लगायतको वाद्यवादनका साथ मध्यपुर थिमीका प्रत्येक मन्दिरमा पुगेका महिलाहरुमा नेवार मात्र नभइ गैर नेवारहरु नेवारी पोशाकमा सजिएका थिए । सोमबार भएको कृष्ण शोभा यात्राले गर्दा मध्यपुर थिमीका टोल टोल आकर्षणको केन्द्र बनेको थियो । अरु बेला खासै देश परिक्रमाको अनुभव नपाएका मध्यपुर थिमीबासीले बालकुमारी, चपाचो, नगदेश, बोडे परिक्रमा गरी मन्दिर मन्दिरमा सगुन चढाएका थिए ।

राज गणेश इनाय टोलबाट शुरु भएको शोभा यात्रा, गरुडनारायण, नित्यनाथ, ब्रमायणी, विष्णुबीर, मरु कृष्ण, इन्द्रायणी, हात्तीमहाँकाल, सिद्धिकाली, सोंगा, नगदेश गणेश, बोडे गणेश, महालक्ष्मी, थापाननि बाराही, तिगनी, बाहाखा भिमसेन, वाहाननी, बागफल्चा, पोवु सूर्यविनायक, भुलाँखेल कृष्ण, चोडे गणेश, निगुपुखु कृष्णसम्म पुगेर समापन गरिएको थियो ।

व्यापारीवर्गको प्रसिद्ध जात्रा : भीमसेन जात्रा

उपत्यकाका तीन शहरहरुमध्ये ललितपुर शहरको आफ्नो छट्टै पहिचान रहेको छ  । यही शहरभित्र पर्ने पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । यही दरबार क्षेत्र भित्र पर्ने भीमसेनको मन्दिर मल्लकालीन काष्ठकला र धातुकलाको अनुपम नमुनाको रुपमा रहेको छ । मल्लकालीन राजा श्रीनिवास मल्लले नेपाल सम्वत ८०१ (वि.सं. १७३८) मा यस मन्दिरको मूलद्वारको दाहिने पट्टीको शिलालेखले प्रतिविम्वीत गरिरहेको छ ।
 
प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले यो मन्दिर ज्यादै सुन्दर एवं आकर्षक रहेको छ । मन्दिरको माथिल्लो छाना सुनको मोलम्बा र त्यस मुनिका दुईवटा छानाहरु झिगँटीले छाएका छन् । भैरवको एक अवतारको रुपमा मान्ने गरिएको यस भीमसेन मन्दिरको पुरानो नाम मणिभैरव हो । पूर्वाभिमुख अवस्थामा रहेको यस मन्दिरको दोस्रो तल्लामा मुख्य भीमसेनको देवागार रहेको छ । साथै यसै तल्लामा भीमसेन, भैरव, द्रोपदी र वालीका गरी चारवटा मूर्तिहरु रहेको छ । सुनको संख्या र टुँडालहरुमा धातु निर्मित विभिन्न किसिमको भैरव मूर्तिहरुले यस मन्दिरको तेस्रो अर्थात माथिल्लो तल्लामा भीमसेनको सबभन्दा पुरानो मूर्ति रहेको छ ।

नेपाली व्यापारीवर्गहरु भीमसेनलाई व्यापारीको प्रयाप्त वा प्रतिकको रुपमा दिने गर्छन् । महाभारत र पुराणहरुमा बल, साहसी र बहादुरीको प्रतिकको रुपमा देखापर्ने भीमसेन नेपालमा व्यापार र वाणिज्य क्षेत्रका प्रमुख देवताका रुपमा कहिले र कसरी प्रवेश भयो भन्ने कुनै आधारिकारीक प्रमाण प्राप्त भएको छैन । तर प्राचीन समयमा नेपालीको वेदैशिक व्यापारको सिलसिलादेखि नै यसको प्रवेश भएको हुनुपर्छ भन्दा आमजनमासको धारणा रहेको पाइन्छ । वैदेशिक व्यापारको क्रममा कठिन पहाड, खोलानाला घनाजंगल पार गरेर जानुपर्ने र फर्कदा बाटोमा चोरी डकेतीको भय जङ्गली जनावरहरुको सामना गर्नका लागि बल, साहस र बहादुरीको आवश्यक पर्ने कुरा विचारणीय छ । तसर्थ यस्तो अवस्थामा भीमसेन सम्बन्धी कतिपय लोककथा र किंवदन्तीहरुबाट पनि हामी थाहा पाउन सक्छ ।
 
नेपालमा अरु देवीदेवताहरुको जात्राहरुजस्तै भीमसेनको पनि जात्रा गरिन्छ । हरेक वर्ष भाद्र कृष्णदशमीको दिन भीमसेन पुजा अथवा भीमसेन जात्रा गरिन्छ । मुख्यगरी नेवार समुदायको बाहुल्यता रहेको छ । व्यापारीवर्गको महत्वपूर्ण  र प्रसिद्ध जात्राको नामले भीमसेन जात्रालाई चिनिन्छ । यो जात्रा विशेष रुपमा पाटनमा अवस्थित भीमसेनको जात्राको रुपमा  प्रचलित रहेको छ । उपत्यकाका व्यापारीहरु यस जात्रामा सहभागी हुन जात्राको दिन भोजको कार्यक्रम सहित समूह समूहमा पाटन दरवार क्षेत्रमा आएको पाइन्छ । राती हुने यस जात्रा भीमसेनको मूल मन्दिरको अगाडि रहेको डबलीबाट यस जात्राको शुभारम्भ गरिन्छ । जात्रामा सहभागी हुन पाटनका प्रत्येक टोल टोलबाट भजनमण्डली आउछ । खतमा भीमसेनको मूर्ति विराजमान गराई जात्रामा सहभागी जात्राहरु (विशेगागरी व्यापारीवर्ग) धूप धुटौरा र चित्रण बाली खतको अघि अघि हिड्छ । सो धूप धुपोटाले वातावरणलाई सुगन्धित बनाउँदछ । सो भीमसेनको खतलाई पाटनको मगंलबजार लगायत शहरका मुख्य मुख्य भागको परिक्रमा गराई सकेपछि फेरी सोही स्थान ल्याएर खत विसर्जन गरिन्छ । भीमसेन बल, साहसी र बहादुरीका देवताको रुपमा लोकप्रिय रहेकाले व्यापारीवर्गका साथै युवावर्गमा समेत यिनको प्रभावका साथै यस जात्राको प्रभाव विशेष रुपमा देखापरेको छ ।

8/15/11

साउनको एक महिने दत्तात्रय मेला सम्पन्न

– लक्ष्मी गारु

भक्तपुर, ३० साउन – विश्व सम्पदा सुचीमा सुचिकृत भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा हरेक वर्ष साउन महिनाको प्रत्येक सोमबारका दिन लाग्ने एक महिने मेला आज विशेष पुजा अर्चनाका साथ सम्पन्न भएको छ ।

धार्मिक तथा ऐतिहासिक रुपले अत्यन्त महत्वपुर्ण मानिएको दत्तात्रय भगवानलाई व्रम्हा, विष्णु र महेश्वर तीन देवताका अवतारका रुपमा पुजिने गर्दछ ।  पौराणिक कालमा दत्तात्रय मन्दिरमा साउन सोमबारका दिन चोखो भई ब्रत बसेर दत्तात्रय भगवानको पुजा अर्चना तथा दर्शन गर्नाले आफुले चिताएको मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

देवताहरुका पनि देवताका रुपमा पुजिने दत्तात्रय मन्दिरमा आफुले चिताएको मनोकाक्षां पुरा होस् भन्ने अभिलासाले साउनको प्रत्येक सोमबार भक्तजनहरुको विहानैदेखि बेलुकासम्म भिड लाग्ने गरेको मन्दिरका पुजारी बताए ।

भक्तजनहरुले आफ्नो मनोकाक्षां पुरा गरिदिने देवताका रुपमा दर्शन गर्न आउने दत्तात्रय भगवानको मन्दिरमा आउने अधिकासं भक्तजनहरु अविवाहित भए राम्रो वर पाउने र विवाहित भए श्रीमान् तथा परिवारको सुस्वास्थ्य, दिर्घायु र सुखमय होस् भन्ने मनोकाक्षां लिई पुजा अर्चना तथा दर्शन गर्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले बताए ।

दत्तात्रय भगवानको दर्शन गर्न धुलिखेलबाट आएकी रामकुमारी खटिवडा र पाटनबाट आएकी अम्बिका श्रेष्ठले परिवार जनको  सुस्वास्थ्य, दिर्घायु र सुखमय होस् भन्ने मनोकाक्षां लिएर पुजा अर्चना तथा दर्शनका लागि आएको बताउनुभयो । यसरी आ–आफ्नो मनोकाक्षां पुराहोस् भन्ने हेतुले दत्तात्रय भगवानको मन्दिरमा काठमाण्डौं, ललिटपुर, साँखु, थिमी, भक्तपुरको विभिन्न ग्रामिण क्षेत्रहरु, बनेपा, धुलिखेल, नाला, पनौटी लगायतका ठाउँहरुबाट दर्शनका लागि भक्तजनहरु आउने गरेको पाइन्छ ।

हराउँदै गए परम्परागत जाँतो

– लक्ष्मी गारु
परम्परागत रूपमा पिसानी गर्ने जाँतो संरक्षणको अभावमा हराउँदै गएको छ ।

चामल, गहुँ, केराउ लगायत अन्य गेडागुडी पिन्ने जाँटो मिलको विकास हुनुभन्दा पहिला गाउँघरदेखि शहर बजारका घरघरमा हुने जाँटो अहिले ठाउँठाउँ आधुनिक विधुतिय मिल भएकोले संरक्षणको वस्तु बन्न पुगेको हो ।

स्वास्थ्यका दृष्टिले जाँतोमा पिनेको अन्न स्वादिलो र पौष्टिक तत्वयुक्त भएपनि प्रविधिको विकाससँगै आधुनिक समाजमा विभिन्न खाद्यवस्तु पिन्ने मिलहरु धेरैनै बढेका कारण जाँटो हराउँदै गएको हो । 

एकवर्ष अगाडीसम्म चामल, केराउ, सिमी जाँतोमा पिस्दै आएकी नगरकोटकी राममायाँ तामाङ आजकल जाँतो चलाउन निकै गाह्रो भएको महसुस गर्न थालेका छन् । केही समय अगाडी केटाकेटी, बुढाबुढीदेखि लिएर युवा वर्गले समेत कोदो, मकै पिस्ने बेलामा रातभरी लाएरै भएपनि जाँतोमै पिस्ने काम गरथ्यो तर आजकल हामीलाई त गाह्रो भएको छ भने अहिलेको छोरी बुहारीले गर्न नसक्ने तामाङले बताइन् । त्यसैगरी काँक्राबारीकी ६९ वर्षीया कान्छी तामाङले आफ्नो पालामा चामल,  मकै,  केराउ, सिमी र कोदो रातभरि जाँतोमा पिस्दा पाँच–छ पाथी पिसेर घरको काम समेत भ्याउनुपर्ने भएकाले धेरै दुःख गर्नु परेको बताए ।
   
सामाजिक मूल्यमान्यता बोक्ने दर्पणको रुपमा रहेका कुटानी पिसानी गर्ने परम्परागत वस्तुहरु लोपहुँदै जाने हो भने कुनै समयमा त्यस्तो वस्तुहरुको अस्तित्व समेत नरहने अवस्था नआउँलान् भन्न सकिन्न ।

8/14/11

भक्तपुरमा सांस्कृतिक पर्व गाइजात्रा विहानैदेखि मनाइन्दै

– लक्ष्मी गारु
भक्तपुर, २९ साउन – वर्ष दिनभित्र मरेका मान्छेको दिवंङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व आज विहानैदेखि भक्तपुरमा शुरु भएको छ ।
  
वर्ष दिनभित्र मरेका मान्छेको दिवंङगत आत्माले मोक्ष प्राप्त गरुन भन्ने आकांक्षाले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिनदेखि आठदिनसम्म गाइजात्रा पर्व नेवार समुदायले विशेष पर्वका रुपमा मनाइन्छ ।
   
गाईजात्रालाई नेपाल भाषामा सापारु पनि भनिन्छ । विधिवत गाईलाई नगर परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने  धार्मिक विश्वास अनुसार यो पर्व मनाइन्दै आइरहेको छ ।
  
गाईजात्रा पर्व देशव्यापी मनाइने भएपनि भक्तपुरमा भन्ने भिन्नै तवरमा सांस्कृतिक उत्सवका रुपमा मनाइन्छ । गाईजात्राका दिन विहान सवेरै भक्तपुर तलेजु स्थानवाट भक्तपुरवासीले कुखुरा नवास्दै पहिलो तलेजुको ताहामचा बनाई नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।  त्यसपछि सर्वसाधारण मान्छेको मृत्यु भएकाहरुको मृतात्माहरुको प्रतिक ताहामचा वनाइ नगर परिक्रमा गर्ने गरिन्छ ।
   
गाईजात्राका दिन वर्ष दिनभित्र मरेका मध्ये मृत्यु संस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाहरुको सांचा वनाई नगर परिक्रमा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामाचा वनाई देश परिक्रमा गर्ने प्रचलन रहेको इतिहास तथा सँस्कृतिविद्हरु बताउँछन् । तामचालाई मृतकको घरको मूल ढोका अगाडि पुरोहितले क्रियापुत्रद्धारा पुजा संकल्प गराई विधि वमोजिम पुजा गरी मृतकको आत्मा सजिलैसित स्वर्गलोकमा पुगोस् भन्ने कामना गरेर नगर परिक्रमा गराइन्छ ।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आर्कषण घिन्ताङघिसी नाच हो । ताहामचासंगै घिन्ताङघिसी नाच समेत प्रर्दशन गर्ने प्रचलन रहेको छ । कसैकसैले मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला रामायणहरु समेत प्रर्दशन गर्ने प्रचलन रहेको छ । कसै कसैले कालो माटोको साँढे वनाई सृंगार पटारका साथ खटमा राखि केटाकेटीहरुलाई आकर्षक तवरले सृंगारी वाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलन रहेको छ ।

गाईजात्रा पर्व धार्मिक तथा सांस्कृतिक महत्व वोकेको पर्व हो । भक्तपुरका तत्कालिन राजा जयस्थिति मल्लको छोराको मृत्यु भएकोमा रानीले मृतक छोराको सम्झनामा धेरै सुर्ता , चिन्ता, लिइन । राजाले आफ्नो रानीलाई धेरै सम्झाए पनि रानी संधै छोराको सम्झनामा चिन्तामात्र लिइरहने गर्छिन् ।
  
राजाले दुनियाँमा आफ्ना छोरामात्र मरेको होइन वर्षदिनमा यतिका छोराछोरी मृत्यु भइसकेका छन् भनि रानीको मन शान्त पार्न र देखाउन राजा जयस्थिति मल्लले भक्तपुर इलाकामा मृतकको सम्झनामा गाई ( ताहामचा )प्रर्दशन गर्नुपर्ने परम्परा बसालेको  इतिहासमा उल्लेख रहेको छ ।

यतिले पनि रानीको मन शान्त हुन नसकेकोले विभिन्न प्रकारका प्रहसन, व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश भए अनुरुप सो प्रचलन हालसम्म पनि चलेको संस्कृतिविद्हरु वताउँछन् ।

गोपालराज वंशावलीमा पनि साँ याता जात्रा भन्ने उल्लेख गरिएको छ । यो गाईजात्रा पर्व कहिलेदेखि शुरु भयो भन्ने तथ्यगत प्रमाण नभएता पनि विक्रमको १४ औ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यमा यो गाईजात्रा शुरु भएको     मानिन्छ ।
  
मरेका मान्छेहरु बैतडी नदी तर्नका लागि गाईको पुच्छर समातेर जान सकिएमा स्वर्गमा पुगिन्छ भन्ने धार्मिक मान्यता रहेको यो जात्रा तलेजुको साँ ( ताहामचा ) ल्याएर गाईजात्रा शुरु गरिन्छ भने भैरव र भद्रकालीको साँ ल्याएपछि  गाईजात्रा सम्पन्न गर्ने प्रचलन रहेको छ । गाईजात्राले मानिसको मृत्यु जस्तै देव देवीको पनि मृत्यु हुन्छ र जन्म हुन्छ भन्ने सामाजिक मान्यता रहेको यसले दर्शाएको छ ।

वर्षदिनभित्र दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई वा ताहामचा वनाई  आ – आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुहरुद्धारा फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । पहिला शान्तपूर्ण रुपमा जात्रा हुने गर्दछ तर आजभोलि जात्रामा उत्श्रृखल वढ्दै गई जात्रामानै विकृति आउन थालेकोमा गम्भिर चिन्ता व्यक्तगदै त्यस्ता विकृति हटाउन सबै लाग्नुपर्ने स्थानिय समाजका अगुवाई अनंन्त धौभडेल बताए ।

भक्तपुरकै अर्को शहर ठिमीमा भने राँको वालेर गाईजात्रा पर्व मनाइने परम्परा रहेको छ ।

गाईजात्राको भोलिपल्ट देखि कृष्णा अष्टमीसम्म विभिन्न देवीदेवताको जात्रा सँगै व्यङ्गग्यात्मक प्रहसन, ख्याल, नाटकहरु प्रर्दशन गर्ने गरिन्छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंङ्गत आफ्न्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व आज भक्तपुरमा विशेष रुपमा मनाइन्छ ।

पानीका मुहानहरु सफा गर्ने पर्व सिठी नखा

– लक्ष्मी गारु

उपत्यकामा पानीको हाहाकार भएको बेला नेवार समुदायले पानीका मुहानहरु सफा गरेर  सिठी नखा पर्व मनाउने गर्छन् ।
सुख्खा मौसमका कारण पानीका प्रमुख श्रोतहरु सुक्दै गएका वेला नेवार समुदायले आजका दिन पानीका विभिन्न प्राकृतिक स्रोतहरु इनार, कुवा, पोखरी र ढुङगेधारा सरसफाइ गरेर सिठी नखा पर्व मनाउने गर्छन् ।

प्रत्येक वर्ष जेष्ठ महिनाको शुक्लपक्षको षष्टीका दिन पानीका स्रोतहरु सरसफाइ गर्दा स्वच्छ जीवन जीउन सकिने तथा नेवार समुदायको परम्परा बच्ने इतिहास तथा सस्कृतिविद्  पुरुषोत्तम लोचन श्रेष्ठले बताएका छन् ।

सिठी नखाकै अवसरमा भक्तपुरका दर्जनौ भन्दा बढी कुवा, इनार, पोखरीहरु टोलबासी मिलेर सफा गर्छन् । सफा गरेका पानीका मुहानमा छिटो पानी भरियोस् भने हेतुले सरसफाई पछि नागको प्रतिक बनाएर राख्ने चलन छ । भोलिपल्ट  विहान नागको पुजा सकेपछि मात्र पानी निकाल्ने प्रचलन पनि रहेको छ ।

पर्यटकीय मार्गको रुपमा विकास गर्न फुटपाथ निर्माण कार्य शुरु

– लक्ष्मी गारु
भक्तपुर नगरको शहरी सौन्दर्य बढाउन र पर्यटकीय मार्गको रुपमा विकास गर्न डिभिजन सडक कार्यालयले सडकको दाया“ वाया“ फुटपाथ निर्माण शुरु गरेको छ ।

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई अझ उजागर गर्न सडकलाई हरियाली क्षेत्रका रुपमा विकास गर्न फुटपाथ निर्माण शुरु गरेको हो ।

भक्तपुर नगरको मुख्य शहरी क्षेत्र र पर्यटकीय मार्गमा पैदल यात्रीहरुलाई आवागमन सजिलो बनाउन सल्लाघारीदेखि दरवार स्क्वायरसम्म सडकको दायाँवायाँ फुटपाथ निर्माण गरी ग्रीन बेल्ट समेत बनाउने योजना रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

शहरी सडकलाई पर्यटकीय मार्गको रुपमा विकास गर्न चालु आर्थिक वर्षमा फुटपाथ निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको कार्यालय प्रमुख करन राणाभाटले बताए ।

भक्तपुरको दत्तात्रयमा मेला

– लक्ष्मी गारु
साउन सोमबारको अवसरमा भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ ।
    
आफ्ना श्रीमान्को लामो आयु र सुस्वास्थ्यको कामना गर्दै महिलाहरु दत्तात्रय मन्दिरको पुजा अर्चना गर्न विहानैदेखि ठूलो घुइचो लाग्ने गर्दछ ।
   
ब्रम्हा, विष्णु र महेश्वरका तीनै देवताका संयुक्त अवतारका रुपमा लिइने प्रसिद्ध दत्तात्रय मन्दिरमा प्रत्येक वर्ष साउने सोमबारका दिन ठूलो मेला लाग्ने गर्दछ । महिलाहरु निराहार बसी दत्तात्रय मन्दिरमा गई पुजा अर्चना गर्नुका साथै उन्मुक्त भई विहानै दत्तात्रय लयायत अन्य महादेव स्थानमा समेत पुजा गर्ने गर्छन् ।
  
दत्तात्रय भगवान्को पुजा अर्चना गर्न काठमाडौं, ललितपुर, काभ्रे, भक्तपुरको विभिन्न स्थानहरुवाट भक्तजनहरुको ठूलो घुइचो लाग्ने गरेको मन्दिरका पुजारी बताउनु     हुन्छ ।
  
हरेक साउने सोमबारका दिन दत्तात्रयको पुजा अचर्ना गर्नाले श्रीमान्को लामो आयु हुने र कुमारी केटीले चिताएको राम्रो श्रीमान् पाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

शिर विहिन विश्वप्रसिद्ध मयूर झ्याल

– लक्ष्मी गारु
विश्वको वृत्तचित्रमा अत्यन्त दुर्लभ मानिने विश्वप्रसिद्ध म्हय्खा झ्यो (मयूर झ्याल ) मा सम्बधित निकायको ध्यान आर्कषण नभएका कारण विगत ७५ वर्ष अघिदेखि मयूरको आकृतिको शिरभाग छैन ।

भक्तपुर नगरपालिका वडा नं ३ तचपाल स्थित दत्तात्रय मन्दिरसँगै दक्षिणपूर्वी भागको पूजारी मठमा रहेको पुरातात्विक काष्ठकलाबाट निर्मित मयूर झ्यालको टाउको ९० सालको भुकम्पमा भाँचिएको अहिलेसम्म पनि मर्मत हुन सकेको छैन ।

मठको पूर्वी मोहदाको दोश्रो तल्लामा आँखी झ्याल गरी राखिएको मयूर अंकित ४ वटा झ्यालहरु मध्ये  २ वटा ठूला र २ वटा सानो मयूर झ्याल रहेको छ । जसमध्ये ठूला मयूरको झ्यालमा रहेको आर्कषक देखिने मयूरको शिरको भाग भाँचिएको छ ।

मठका नाइके विकुनारायण ज्याख्वका अनुसार ९० सालको भुकम्प अघि मयूर झ्यालमा मयूरको पूर्ण आकृति थियो र भुकम्प आएपछि मयूर झ्याल अगाडीको घर भट्किएर उक्त झ्यालको मयूरको शिर भाँचिएको हो ।

२०३० सालमा जर्मनका केही नागरिकहरुको नेतृत्वमा त्यस मठको जिर्णोद्धार गरिएको थियो । मठ जिर्णोद्धारको क्रममा मयूर झ्यालको मर्मतको लागि सम्वधित निकायलाई पटक पटक जानकारी गराए पनि विभिन्न कारणहरु देखाई यस विषयमा चासो नदेखाएको जानकारी दिनुभयो ।

स्थानिय बासिन्दा आशलाल दुवालका अनुसार भुकम्प आउनुपुर्व झ्यालमा अंकित मयूरको घाँटीमा चिरा परेको थियो र भुकम्प पछि शिर नै भाँचियो र बाँकी रहेको अर्को ठूलो मयूर झ्यालमा पनि शिरमा कल्की छैन जसले गर्दा झ्यालको आर्कषणमा निकै कमी आएको दु:ख व्यक्त गर्नुभयो ।

भुकम्पपछि पुजारी मठ पटक पटक जिर्णोद्धार भइसके पनि मर्मतको बेला झ्यालमा मयुरको टाउको जोड्ने काम भने कोहीबाट पनि भएन । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित सम्पदा शाखाका कर्मचारीका अनुसार भक्तपुर  विकास परियोजना जस्ता महत्वाकांक्षी  पुर्ननिर्माणको क्रममा पनि टाउको मर्मत नहुनुमा कुनै साँस्कृतिक वा ऐतिहासिक कारण हुन सक्ने आशङका व्यक्त गर्नुभयो ।

पुजारी मठमा मयूरको आकृति भएको झ्याल हुनुमा ऐतिहासिक कारण भएको संस्कृतिविद् ओमप्रसाद धौभडेलको कथन छ । उनका अनुसार पुजारी मठमा दत्तात्रयको पूजाआजा लगायतका कार्यहरु सम्पन्न हुन्छन् ।

मयूर भन्ने स्थानको एक फकिर व्यापारीले बनाएको मठ भएर यस पुजारी मठमा मयूरको आकृति रहेको हो । गुरुवृक्ष गिरी नामका उक्त व्यापारीले आफ्नो बासस्थानको सम्झनामा उक्त मठमा मयूरको आकृति राखेका हुन् ।

ऐतिहासिक प्रसंग र स्थानिय वृद्धहरुको भनाइ अनुसार मयूर झ्यालको पूर्ण आकृति रहेको तथ्य प्रमाणित छ । तर सम्पदा शाखाले जनाए अनुसारको मान्यता स्थापित हुने खतरा यस खालको ऐतिहासिक प्रसङगमा झन् बढी हुन्छ ।

भक्तपुर नगरपालिका अन्र्तगत सम्पदा शाखाका प्रमुख कृष्णगोपाल प्रजापति पनि आफूलाई मयूरको टाउको भाँचिएको याद नभएको स्वीर्काछन् । भक्तपुरका विभिन्न मठ मन्दिर लगायत अन्य ठूला स्मारक जिर्णद्धार गरेको संकेत गर्दै उनले बताए ।

संरक्षणको प्रतिबद्धता जनाए अनुसार सरोकारवालाहरुले तत्कालै संरक्षण गर्ने आवश्यक कदम चाल्नुपर्ने जनगुणासो रहेको छ । समयमै यस कलात्मक झ्यालको संरक्षणमा ध्यान केन्द्रित नगर्ने भए भविष्यमा कुनै समयमा भक्तपुर शिर विहिन मयूर झ्यालको नामबाट प्रसिद्ध नहोला भन्न सकिन्न ।

8/12/11

चाँगुनारायणमा ठूलो मेला

भक्तपुरको विश्व सम्पदा सुचिमा सुचिकृत लिच्छविकालीन चागुनारायण मन्दिरमा विभिन्न अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।
 
प्रत्येक वर्ष वर्षा ऋतुको साउन शुक्ल पक्ष (नागपंचमी) का दिन चाँगुनारायणमा ठूलो मेला लाग्ने गर्दछ ।

हिन्दु परम्परा अनुसार आजकै दिनमा चागुनारायणको पुजा गरी घरको दैलोमा नागको छापा अंकित चित्रमा विधि पुर्वक धुपदिप बालेर दुध चढाएर पुजा गर्ने परम्परा छ ।   

वर्षाकालमा नाग र सर्पले धेरै दुःख दिइरहको नागलाई शान्ति गरी त्यही नागबाट वरदान पाएकोले नाग पुजा गरी नागपंचमी मनाउने गरेको संस्कृतिविद्हरु     बताउँछन् ।

नागपंचमीको दिनमा नागको पुजाअर्चना गरेमा शुख, शान्ति र पूण्यप्राप्ति हुनुका साथै नागको दुःखबाट मुक्त हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता रहेको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक रुपमा नेपालकै प्राचीन मानिने चाँगुनारायण मन्दिरमा नागपंचमीको दिन बाहेक विभिन्न समयमा ठलठूला जात्रा, मेला लाग्छ ।

संरक्षणको पर्खाईमा भाजु पोखरी

– लक्ष्मी गारु
पोखरी नै पोखरीको शहर भनेर चिनिने भक्तपुरकै प्राचिन ऐतिहासिक महत्व बोकेको भाजु पोखरी पुनःनिमार्ण एवं जिणौद्धारको पर्खाइमा रहेको छ । 

ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरको वडा नं १७ दुधपाटीमा अवस्थित रहेको ऐतिहासिक भाजु पोखरी जिणौद्धारको क्रममा विवाद उत्पन भएपछि जिणौद्धार कार्य प्रभावित हुन गएको थियो । २०५९ साल बैशाख ६ गतेवाट जिणौद्धार कार्य शुरु भएकोमा स्थानिय वासिन्दा विवाद उत्पन्न भएपछि झण्डै ५/६ महिनापछि सम्पूर्ण काम नै ठप्प हुन गएको थियो । त्यस वेलादेखि अहिलेसम्म पनि पोखरीको जिणौद्धार गर्ने कार्यको पहल कसैकतैवाट गरिएको छैन । 


२०५९ सालम जनप्रतिनिधिको म्याद सकिए लगतै पोखरीको जिणौद्धारको क्रममा मनोनित जनप्रतिनिधि र उपभोक्ता समिति वीच तालमेल नमिल्नु र स्थानिय वासिन्दासंग सामान्य विवाद
उत्पन्न भएपछि जिणौद्धार कार्य रोकिएको भक्तपुर नगरपालिकाका एक कर्मचारीले बताए । भक्तपुर जनप्रतिनिधि नभएको ४ वर्ष भइसक्यो अहिलेसम्म त्यसको बैठक बस्न सकेको छैन त्यसैले भाजु पोखरीको जिर्णोद्धार गर्न अहिले सम्भ छैन । नगरपालिकामा पटक पटक भक्तपुर नगर विकासका विषय बैठक बसे पनि भाजु पोखरीको बारेमा अहिलेसम्म कुनै कुरा उठाएको छैन । त्यसैले यसको जिर्णोद्धार अहिले सम्भ नभएको पनि उहाँले जानकारी दिनुभयो ।  

झण्डै ३० रोपनी क्षेत्रफलमा फैलिएको उक्त पोखरीको पुरै किनार तीन तहमा विभाजित छ । गहिराई तिरको पहिलो तहसम्म पानी भरिने, दोस्रो तहमा वृक्षारोपन गरिने तथा तेस्रो तहमा पोखरी घुम्न मिल्नेगरी बाटो वनाईने योजना रहेको छ । भक्तपुर नगरपालिकाले सो योजना एक वर्षभित्र सिध्याउने गरी ४४ लाख २६ हजार रुपैयाँको वजेट विनियोजन गरिएको थियो । पोखरी जिणौद्धारको क्रममा झण्डै २५ प्रतिशत काम सम्
पन्न भैसकेको र १२ लाख  रुपैयाभन्दा वढी खर्च भैसकेको भक्तपुर नगरपालिकाका वडा नं १७ वडा कार्यालयले जनाएको छ ।

ऐतिहासिक महत्वको यस पोखरीमा अहिले सो क्षेत्रको उत्तरपट्टि बस्ने ३० भन्दा वढी घर परिवार, जुद्ध वारुण यन्त्रका कर्माचारी, पशुसेवा कार्यालयका कर्माचारीहरुको ढल तह लगाउने उपयुक्त स्थान वनेको छ ।


भाजु पोखरी एउटा ऐतिहासिक पोखरी हो । पोखरीको शहर भनेर गर्व गर्ने भक्तपुरवासीहरु यो पोखरीको दुर्दशा देखिपछि निकै चिन्तीत देखिन्छन् । झण्डै तीन सय वर्ष पुरानो मानिने उक्त पोखरी जिणौद्धार नभएपछि अहिले घासे मैदानको रुपमा परिणत भएको छ । सांस्कृतिक नगरी घुमेर मख्ख परेका पर्यटकहरु पनि यो पोखरीको दुर्दशा देखेपछि भक्तपुरको प्रशंसा गर्न हिचकिच्याउछन् । यस्तो महत्वपूर्ण भाजु पोखरीको जिणौद्धार कार्य छिटो भन्दा छिटो गर्नुपर्ने स्थानिय वासिन्दा
हरुले बताए । उहाँका अनुसार पोखरीको पिधमा बलौटे माटो भएको हुनाले पानी चुहिने समस्या रहेको छ । यसका लागि पोखरीको झारपातलाई निकालेपछि १० इन्च कालो माटोले भरी त्यसमाथि इटाको छपनी विछ्याने योजना समेत वनाईएको थियो ।

देशकै सवैभन्दा सानो जिल्ला भक्तपुरको नगर क्षेत्रमा साना ठूला गरी तीन दर्जन पोखरीहरु रहेका छन् । भक्तपुरकै एकमात्र सरकारी क्याम्पस भक्तपुर बहुमुखी क्याम्पससंगै
को यो पोखरी जोडिएर रहेको छ । दुधपाटीकै अर्को प्रसिद्ध पोखरी सिद्धपोखरीको सान भने अर्कै छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको आक्रर्षणको थलो वनिसकेको छ । तर सिद्धपोखरीको दक्षिणमा रहेको भाजु पोखरीको अवस्था भने साह्रै दयनिय अवस्थामा रहेको छ । पोखरीको दयनिय अवस्थाले गर्दा भक्तपुर क्याम्पसको गरिमालाई नै आघात पुर्याई रहेको भक्तपुर वहुमुखी क्याम्पसका प्रविण लाखे भन्नुहुन्छ ।

ऐतिहासिक तथा सांस्कृतिक महत्वसंग पनि गाँसिएको यस पोखरीको जिणौद्धार कार्यको लागि वडा कार्यालयवाट सक्दो प्रयास र सहयोग गरीरहेको वडा कार्यालयले जनाएको छ । मल्लकालिन राजा भुपतिन्द्र मल्लका सल्लाहकार भाजु कशःले उक्त पोखरीको निमार्ण गरेको भन्ने इतिहासमा उल्लेख गरिएको छ । 


नजिकैको प्रसिद्ध सिद्धपोखरी सुकाउने उदेश्यले उनले यो पाखेरी निमार्ण गरेको भन्ने स्थानिय बुढापाकाहरु वताउछन् ।

लोपोन्मुख अवस्थामा भादगाउँले टोपी

– लक्ष्मी गारु
विभिन्न कलात्मक मठ मन्दिर तथा पुरातात्विक महत्वका वस्तुहरुले भरिएको ऐतिहासिक नगरी भक्तपुरलाई चिनाउने भादगाउँले टोपी विस्तारै लोपोन्मुख अवस्थामा पुगेको छ । 


भक्तपुरको पुरानो नाम भादगाउँको प्रतिनिधित्व गर्ने यो कालो भादगाउँले टोपीले भक्तपुरको मात्र नभएर संसारभरि नेपालकै नामलाई सगरमाथा झै उच्च राखेको छ ।


प्रशासनिक क्षेत्रमा बढी प्रयोग गर्ने भादगाउँले टोपीको चलन चल्टीबारे कुनै लिखित इतिहास नभए पनि मल्लकालीन राजा जयस्थिति मल्लले जात विभाजन गर्दा भक्तपुरकै एउटा छुट्टै जातलाई टोपी बनाउने पेशा दिएको भक्तपुर सूर्यमढीका चन्द्रभक्त कस्तीले बताउनुभयो । 


भादगाउँले टोपी बनाउने भक्तपुरमा एउटै मात्र जात छ त्यसलाई भक्तपुरमा चुल्या त्यो भनिन्छ । तर बढ्दो बेरोजगारी समस्याका कारण चुल्या त्यो जात बाहेक अन्य जातका मानिसहरुले पनि यो पेशा अँगालेको पाइन्छ । 


जात विभाजन गरेर काम अनुसारको पेशा दिँदा यस्तो महत्वपूर्ण टोपी बनाउने जिम्मा पनि सम्भवत चुल्या त्योहरुलाई दिएको हुन्छ । विशेषगरी भादगाउँले टोपी बनाउने बस्ती भनेर भक्तपुर नगरमा सूर्यमढी , तौलाछें , भोलाछें र गछें आदीलाई लिन सक्ने उहाँले बताए । 


त्यसैगरी भक्तपुरका सँस्कृतिविद् ओमप्रकाश धौभडेलका अनुसार संयुक्त राष्ट्रसंघमा दर्ता गराउँदा आफूलाई नेपाली भनेर चिनाउन नेपालले रञ्जना लिपी तथा नेपालको नेपाली भाषा प्रस्तुत गरेर नेपाली पोशाकका रुपमा दौरा सुरुवाल शिरमा भादगाउँले टोपीको समेत प्रस्तुत गरेको भन्ने सुनिन्छ । 


त्यसको आधारमा त्रिभुवनले आफनो पालामा ५० पैसाको मुद्रामा सर्वप्रथम भादगाउँले टोपी लगाएर मुद्रा निकालेका थिए जुन अहिले दुर्लभ भइसकेको छ । त्यसबेलाको मुद्रामा प्राय भादगाउँले टोपीहरु हेर्न सकिने उहाँले बताउनुभयो ।


भादगाउँले टोपी भक्तपुरको चिनारी हो ,जसले गर्दा कुनै पनि नेपाली नागरिक संसारको कुनै कुना काप्चामा पुगे पनि नेपाली भनेर चिनिने एउटै मात्र राष्ट्रिय पोसाक दौरा सुरुवाल हो र त्यो दौरा सुरुवालको सबभन्दा माथिल्लो शिरमा बस्ने भादगाउँले टोपी हो । 


त्यो टोपीलाई नेपालीले एउटा ठूला चिनारीको रुपमा लिनुपर्ने तथा व्यक्तिको अनुहार हेर्नासाथ उसले भाषा बोल्नु भन्दा अगाडि नै शिरमा पहिरिएको टोपीले नेपालीत्व झल्काउँछ । 


भादगाउँले टोपीको यस्तो महत्व  हुँदाहुदै पनि यस पेशा अँगाल्दै आएका कालीगढहरुका अनुसार अहिलेको समयमा यस पेशाबाट जीवन निर्वाह गर्न निकै कठिनाइहरु भोग्नु परेको बताउँछन् । चोछेंका कालीगढ कृष्णमोहन राजभण्डारीका अनुसार यो पेशाबाट घरपरिवार चलाउन धौ धौ परेको दुःख व्यक्त गर्नुभयो । 


धेरै काम , कम ज्याला , महंगो कच्चा पदार्थ र उचित बजार व्यवस्थापनको कमीले भादगाउँले टोपी बनाउने व्यवसाय अन्योलमा परेका कारण आफ्ना सन्तानहरु यस पुख्र्यौली पेशाप्रति विमुख भएको र आफू बाध्य भएर यस पेशा अँगाल्दै आएको गुणासो राख्दै राजा महेन्द्रको पालासम्म कुनै पनि नेपाली नागरिक सिहंदरबार भित्र छिर्न भादगाउँले टोपी अनिवार्य रुपमा लगाउनु पर्ने नियम थियो । तर त्यो नियम केही समयका लागि मात्र सिमित रहेको पनि बताउनुभयो ।


हिजोका राजा महाराजादेखि अहिलेका राष्ट्रपतिसम्मका उच्च ओहदाका व्यक्तिहरुको शिरमा सजिने यो भादगाउँले टोपी लोपोन्मुख अवस्थामा पु¥याउन स्वयम भक्तपुरबासी दोसी रहको अर्को कालीगढ कृष्णचरण कस्तीले बताए ।


उनका अनुसार भक्तपुरबासीले भादगाउँले टोपी भन्दा धाकाटोपी बढी प्रयोग गर्छ   नजिकको तीर्थलाई हेला भन्ने उखानलाई सावित गरेकै कारण यो व्यवसायमा कठिनाई उत्पन्न भएको हो । जसले गर्दा आफ्नो पुख्र्याैली पेशालाई भावी पुस्ताले निरन्तरता दिने हो की होइन भन्ने कुरामा उनले शंका व्यक्त गरे ।


बाक्लो कालो कपडाले निकै मिहिनेतका साथ बनाउने यो भादगाउँले टोपीले मानिसको मस्तिष्कलाई समेत रक्षा गर्ने गुण रहेको कालीगढहरु बताउँछन् । तर आधुनिकताको नाममा आफ्नो राष्ट्रियता झल्काउने टोपीलाई त्यागेर अन्य विभिन्न विदेशी टोपी र क्यापहरु लगाउने मानिसहरुको प्रवृतिले देश भित्रकै एउटा समुदायको रोजी रोटी गुम्ने अवस्थामा पुगेको छ । 


देशमा विखण्डनको स्थिति देखिएको अवस्थामा म नेवार हुँ , तामाङ हुँ , म राई हुँ भन्ने एक प्रकारको विखण्डनको आवाज उठिरहेको बेलामा प्रत्येक नेपाली नागरिकले म नेपाली हो भन्ने धारणा जगाउन भादगाउँले टोपीले ठुलो सहयोग गर्नुका साथै राष्ट्रियताको भावना जोगाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।


भाषा र पोसाकहरुले भन्दा पनि यदि सबैको शिरमा टोपी भइदिएको भए हामी नेपाली हो भनेर संसारको कुना काप्चामा चिन्न सक्छौं तर यो कुराको शुरुवाट सबभन्दा पहिले नेपाल भन्दा पनि नेपाल बाहिरका नागरिकहरुले देखाएको सँस्कृतिविद् धौभडेलको गुनासो छ । 


अहिले दार्जलिङमा एक प्रकारको आन्दोलन चलिरहेको छ त्यहाँ गोरखाल्याण्डको आन्दोलनको प्रमुख उद्देश्य भनेको दौरा सुरुवाल लाउने शिरमा टोपी लगाउने विषयमा भएको हो । अहिले त्यस क्षेत्रमा नेपाली भाषाको प्रयोग भएको पनि उहाँले बताउनुभयो । 


पुख्यौली रुपमै भादगाउँले टोपीको पेशालाई अँगाल्दै आएका भक्तपुरका रामसुन्दरहरु जस्ता कालीगढहरुले आफ्नो भावी पुस्तालाई यस पेशामा निरन्तरता दिने कार्यलाई कायमै राख्ने हो भने यो पेशाको निरन्तरताको लागि सम्बधित निकायको ध्यान केन्द्रित गरी नेपालीको पहिचानसँग जोडिएको यो पेशाको संरक्षण र प्रर्बदनबारे साच्ने बेला भैसकेको छ । 


विश्वकै सर्वोच्च शिखर सगरमाथाको झझल्को दिने यो टोपी मात्रले पनि नेपालीलाई संसारभरि चिनाएको छ । आफ्नै देशका कर्मठ हातहरुबाट बनेको यो भादगाउँले टोपीको प्रयोग अनि संरक्षणमा हामीले नै ध्यान दिनुपर्दछ ।

8/10/11

निः शुल्क हलुका सवारी चालक तालिम

जिबेश सितिखू

भक्तपुर, २५ साउन – एशियाली विकास बैंकको ऋण सहयोगमा युसेप नेपालले आजबाट ३ (तीन) महिना   (३९० घण्टे) हलुका सवारी चालक तालिम सञ्चालन गरेको छ ।

व्यक्तिहरुका लागि रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आयोजित उक्त तालिम रोजगारीका लागि सीप परियोजनाका प्रबन्धक पुष्प रमण वाग्लेले सहभागी प्रशिक्षार्थीलाई सवारी सुरु गर्न लगाई कार्यक्रमको उद्घाटन गरेको छ ।

युसेप नेपालका अध्यक्ष रामकृष्ण निरौलाको सभापतित्व भएको उक्त कार्यक्रममा १६ वर्षदेखि ४० वर्ष उमेरका ५०० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

8/8/11

मोबाइल र जन्क फूड प्रयोगमा प्रतिबन्ध

– लक्ष्मी गारु

कतै तपाईले कक्षा कोठामा मोवाइल फोनको प्रयोग त गरिरहनु भएको छैन, कारवाहीमा पर्नुहोला है । मोवाइल फोनको प्रयोगले शिक्षण सिकाइमा प्रतिकुल असर पु¥याएपछि शिक्षा विभागले विद्यालयको कक्षा कोठामा मोवाइल फोन प्रयोगमा प्रतिवन्ध लगाएको छ ।

विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्याकिङ्ग गरिएका जङ्क फूडहरु तथा सुख्खा केमिलकयुक्त खाद्य पदार्थहरुको प्रयोगमा समेत प्रतिवन्ध लगाएको छ ।

मोवाइल फोनको प्रयोग आवश्यकतासँगै विभिन्न क्षेत्रमा समस्याका रुपमा पनि देखिएको छ । पछिल्लो समयमा स्कुलमा पढ्ने विद्याथीहरुमा समेत मोवाइल फोन नहुने कम मात्र देखिन्छ । विद्यार्थीले कक्षाकोठामा समेत मोवाइल फानेको् प्रयोगले शिक्षण सिकाइमा प्रतिकूल असर पु¥याएको भन्दै शिक्षा विभागले विद्यालयको कक्षाकोठामा मोवाइल फोन प्रयोगमा प्रतिवन्ध लगाएको हो ।

विद्यालयमा हुने शिक्षण सिकाईलाई प्रभावकारी एवं गुणस्तरीय बनाउन मोवाइल प्रतिवन्ध लगाएको शिक्षा विभागका महानिर्देशक डा.लवदेव अवस्थीले बताए ।

कक्षाकोठामै मोवाइलको फोनले पुरै कक्षाकोठा नै डिस्तप भई विद्यार्थीले नबुझ्ने र विद्यार्थीको शिक्षण सिकाइमा साह्ै असर परेको शिक्षकहरुको भनाई छ । शिक्षकहरुको गुणासोले गर्दा अवदेखि विद्यालय र कक्षाकोठमा विद्यार्थीले मोवाइल प्रयोग गरे जफत गर्न शिक्षा विभागले निर्देशन दिएको छ ।

विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने किसिमका अजिनोमोतो मिसिएका दालमोट, चाउचाउ, चिजवल र कुरकुरे जस्ता प्लास्टिकमा प्याकिङ् गरिएका जङ्क फूडहरु तथा सुख्खा केमिकलयुक्त खाद्य पदार्थहरु दिवाखाजाको प्रयोगमा समेत निधेष गरिएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने किसिमका घरमा बनाइएका खाद्य परिकारहरु दिवाखाजाका रुपमा प्रयोगमा ल्याउन सबै विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षण सिकाईलाई व्यवस्थित र गुणस्तरीय बनाउन शिक्षा विभागले विद्यालयहरुलाई दिएको निर्देशन कतिको पालना हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

8/7/11

घत्दै छ भक्तपुरे जुजु धौ को महिमा

परापुर्वकालदेखि नै भक्तपुरको पहिचान बोकेको जुजु धौ को महिमा घट्न थालेकोमा भक्तपुरका दही व्यवसायीहरु चिन्तित बनेको छ ।

भक्तपुरको जुजु धौले देशको मात्र नभई विदेशमा समेत भक्तपुरको पहिचान राख्न सफल बनेको जुजु धौको नामबाट अहिले बजारमा अत्याधिक मात्रामा गुणस्तरहीन दही बनाई बेच्ने काम भइरहेकोले दही व्यवासायीहरु चिन्तित बनेको हो ।

विगतमा भक्तपुरको जुजु धौ कलेजो जस्तै चक्कुले टुक्राटुक्रा पारेर काट्न सकन्थ्यो । तर  अहिले त्यस्तो दही कहाँ पाउने ? भक्तपुर याछें नीवासी ७० बर्षीय मंगल बहादुर त्यातको गुनासो छ । अहिलेको दही पसलबाट घरसम्म ल्याउँदा नै चर्किसकेको हुन्छ । विगतमा दहीको कतारोलाई अर्को दहीको कतारोमा घोप्टो पारी छोपेर राजधानीसम्म नोलमा बोकेर पु¥याइन्थ्यो, तर पनि दहीको कतारो केही हुँदैनथ्यो ।

आधुनिकताका नाममा जसरी हाम्रा गौरवमय परपम्परा ओझेलमा पर्दै गएका छन् त्यसैगरी जुजु धौको गुणस्तर पनि गुम्दै गएको स्थिति भक्तपुरको लागि चिन्ताको बिषय बनेको छ । विगतको गुणस्तर कायम नरहेपछि  भक्तपुरको गौरवमय पहिचानमै प्रभावित हुन पुगेको  हो ।

जुजु धौ भक्तपुरको पहिचान हो तर अहिले भक्तपुरमा जुजु धौको विज्ञापन पनि छ जुजु धौ चाहिं छैन सुर्यमढी स्थित विगत ४५ वर्षदेखि दही व्यवसाय गर्दै आएको रत्नसुन्दर सैंजुले भन्नुभयो । उहाँले भन्नुभयो जुजु धौको अर्थ राजा दही हो तर अहिले यो नाममा मात्र सिमित छ । खोई कहाँ पाइन्छ जुजु धौ ?

जो कोहीले पनि जुजु धौको नाममा सामान्य दही बेच्ने काम भइरहेकोले दही व्यवसायीहरु चिन्तित बन्नु पर्ने अवस्था आएको छ । आधुनिक शैलीमा डेरी तथा पाउडर दुधबाट बनेको दहीलाई फ्रिजिङ गरी जमाएको दहीलाई समेत जुजु धौ नाम दिए पछि यो व्यवसाय जतिलता तर्फ मोड्दै गएको  हो ।

संस्कृतिविद्हरुका अनुसार दहीहरुको राजा अर्थात उत्कृष्ट दही हुनाले र मल्लकालमा राजाले पनि खाने हुनाले यसलाई जुजु धौ भनिएको हो । मल्लकालमा र त्यसपछि धेरै कालसम्म विविध मसलायुक्त खुवाजस्तै अत्यन्तै मिठो दही नै जुजु धौका रुपमा परिचित थियो । अहिले त्यो गुणस्तरको दही भक्तपुरमा अत्यन्त विरलै पाइन्छ ।गाई वा भैसींको शुद्घ दुधलाई दाउराको आगो बालेर अत्यन्त बाक्लो हुनेगरी तताउने र त्यसपछि माटोको कतारोमा राखेर विविध मसला मिसाई भुस ओछ्याएर  जमिनमा सेलाउने प्रक्रियाबाट जुजु धौ बनाइन्छ । दही बनाउने प्रक्रियामा अहिले पनि तात्विक अन्तर छैन । तर अहिले दाउरोको सट्टा स्टोभ वा ग्याँस चुलो प्रयोग गर्न थालिएको छ भन्ने दूध पनि त्यति बाक्लो हुनेगरी तताइँदैन ।

जुजु धौको विज्ञापन गरेर सामान्य दही बेच्नेहरुको संख्यामा कमी आएको छैन । भक्तपुरको नगर क्षेत्रमा मात्र करिव ६० वटा दही पसलहरुले परम्परागत दही व्यवसाय गरिरहेका छन् । अर्कोतिर भक्तपुरको जुजु धौको नाम दिएर भक्तपुर, बनेपा लगायत राजधानीका थुप्रै पसलहरुमा जुजु धौको नामले दही व्यवसाय गर्दै आएका छन् ।

अर्डर आएमा मसलायुक्त दही बनाउने नभए फ्रिजिङ गरी सादा दही बनाउँदै आएकी  सुकुलढोका स्थित भक्तपुरकै पुरानो मानिएको भक्तपुरे दही भण्डार चलाइरहेकी कृष्णश्वरी त्यात भन्छिन अर्डर आउँदा हामीले पाँचसय रुपैयाँ पर्ने दही पनि बनाएका छौंं । माटोको कतारोमा जमाइएको दहीको सामान्यतया ७० रुपैया पर्छ । तर सोही मात्राको उच्चस्तरीय दहीलाई एक सय २५ रुपैयाँ पर्ने दही व्यवसायी त्यात बताउँछिन । दूध अत्यन्तै बाक्लो हुनेगरी तताउनु पर्छ अहिले पनि त्यस्तो दही बनाउन सकिन्छ । राजधानीमा खुलेका अनेकौं डेरीबाट भक्तपुरका परम्परागत दही बनाउने व्यवसाय प्रभावित पार्ने काम भइरहेको छ । यस्ता डेरीहरुले मेसिनबाट सस्तो र सुलभ तरिकाले दही उत्पादन गरी त्यसैलाई भक्तपुरको जुजु धौ भनेर व्यापार गर्छन् ।

राजधानीको डेरीको दहीसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि भक्तपुरको जुजु धौको गुणस्तरमा कमी आएको देखिन्छ ।

राजधानीमा खुलेका अनेकौं डेरीले पनि भक्तपुरको परम्परागत दही बनाउने व्यवसायलाई निकै प्रभावित पारेको देखिन्छ । यस्ता डेरीहरुले मेसिनबाट सस्तो र सुलभ तरिकाले दही उत्पादन गर्छन् र राजधानीका पसल पसलमा डेरीबाटै बनेको दहीलाई भक्तपुरको जुजु धौ  भनेर व्यापार गर्ने चलन व्यापक रुपमा बढेको छ ।

डेरीको दही मिसावटयुक्त र कमसल मुल्यमा पाएकै कारण डेरीकै दही बढी प्रचलित हुँदै आएको छ । भक्तपुर १५ खौमास्थित भक्तपुर जुजु धौ सेन्टरका लक्ष्मी प्रसाद कायस्थ भन्छन् – डेरीको दही सस्तो छ र बढी प्रचलित छ ।   हाम्रोचाहि बढी मिहिनेत पर्ने र राम्रो पनि हुनाले हामी त्यती सस्तोमा दिन सक्दैनौं । डेरीको दहीसंग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पनि जुजु धौको गुणस्तरमा केही कमी आएको तर्क कायस्थको छ  । 

सी टी इ भी टी कर्मचारीलाई कार्यालय भित्र पस्न रोक

भक्तपुर, २२ साउन

एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले आज विहान देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सीटीईभीटीको मूलगेटमा धर्ना दिई कर्मचारीलाई कार्यालय भित्र पस्न रोक लगाएको छ ।

नसिंङ्ग लगायतका निजी शैक्षिक संस्थाहरुले गरेको शुल्क वृद्धिको खारेजी लगायतका ८ सुत्रिय माग राखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा अनेरास्ववियूले लगाएको ताला प्रहरीले फोडेको र विद्यार्थी माथि लाठीचार्ज गरी घाइते बनाएको विरोधमा काम रोक धर्ना दिएका हुन् ।

         विद्यार्थीले सीटीईभीटीको मुल गेटमा धर्ना दिएपछि कोही पनि कर्मचारीलाई भित्र पस्न दिएका छैन । जसबाट सिटीइभिटीको सम्पूर्ण काम प्रभावित भएका छन् ।

एस एल सी पुरक परिक्षा भोलिदेखि शुरु

भक्तपुर, २२ साउन

एसएलसी पुरक परीक्षा भोलि देखि शुरु हु“दैछ । एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण भएका विद्यार्थीहरु पुरक परीक्षामा  सहभागी हुन सक्ने छन् ।

एसएलसी पुरक परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भैसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा १ लाख २२ हजार ५ सय ५ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।

परीक्षा सञ्चालनका लागि २ सय २३ परीक्षा केन्द्र निधारण गरिएको छ ।

परीक्षालाई शान्तिपूर्ण रुपमा सम्पन गर्न प्रत्येक परीक्षा केन्द्रमा १० जना सुरक्षाकर्मी र २५ जना विद्यार्थी बरावर एक जना निरीक्षक परीचालित हुने परीक्षा नियन्त्रक गौतमले बताए ।

भोलिदेखि शुरु हुने एसएलसी पुरक परीक्षा साउन ३० गतेसम्म चल्ने छ ।

8/6/11

आफ्नो पेशाबात बिमुख हुँदैछन : प्रजापती

– लक्ष्मी गारु

भक्तपुर, १९ साउन । माटोका भाँडा बिक्री हुन छाडेपछि भक्तपुरका प्रजापति थर व्यक्तिहरू परम्परागत पेसाबाट विमुख बन्दै गएका छन् ।

प्लास्टिकबाट बनाइएका सस्ता भाँडाले बजार जमाएपछि माटोका भाँडा बिक्री हुन छाडेकोले उनीहरू त्यो पेसाबाट विमुख बन्दै गएका हुन् । माटोको भाँडा बनाएर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने प्रजापतिहरूले अहिले आफ्नो पेसाबाट क्रमशः विस्थापित हुन थालेका छन् ।

भक्तपुर च्याम्हासिंहका ८२ वर्र्षीय कृष्णकुमार प्रजापति भन्नुहुन्छ ‘हाम्रो हातमा सीप र कला दुबै छ तर के गर्ने हामीले बनाएका भाँडामा उपभोक्ताको रुची घट्दै गएकोले यो पेसाबाट विमुख हुने स्थिति आएको छ ।

आठ वर्षअघि आफ्नो पेसाबाट १२ जनाको परिवार पाल्दैआएका कृष्णकुमारले अहिले पाँच जनाको परिवारपाल्न समेत धौधौ भएको बताउनुभयो । माटोको भाँडा बिक्री हुन छाडेपछि अहिले प्रजापति समुदायका नयाँ पुस्ता यो काम गर्न पटकै रुचाउँदैनन् ।

परम्परागत माटोको भाँडा बनाउने प्रजापति भक्तपुरको तालाक्व (कुमालेटोल), सूर्यमढी, निकोसेरा, बोडे, चपाचो, बालकुमारी, लोकन्थली, नगदेशलगायतका विभिन्न ठाउँ गरी करिब ४० जारको हाराहारीमा रहेका छन् ।

पहिला–पहिला प्रजापतिको माटोको भाँडा बनाउने पेसाले स्वदेशी मात्र नभएर विदेशी पर्यटकको मन चोर्न सफल भक्तपुरका स्थानीय काशीराम प्रजापतिले अहिले आएर आफ्नो सीप र कला हुँदाहुँदैै पनि उतार्न नपाउँदा बेरोजगार जीवन बाँच्नबाध्य भएको दुखेसो पोख्नुभयो ।

प्रमुख आयआर्जनको रूपमारहेको प्रजापतिको परम्परागत माटोको भाँडा बनाउने पेसा मानिसको जन्मदेखि मृत्युसम्ममा आवश्यक पर्दछ । तर आजभोलि यस्तो नभई नहुँने काममा मात्र मानिसले माटोको भाँडा प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैकारण परम्परागत माटोका भाँडा लोप हुँदै गएका छन् ।

सानै उमेरदेखि माटोलाई खेलाउँदै नयाँ–नयाँ स्वरूप दिँदै आएका बोडेका किरण प्रजापतीले अब त यो पेसाले जीउन निकै गाहे भएको बताउनुहुन्छ ।

यो पेसा अपनाए आफ्नो मात्र नभएर भावी सन्ततीको भविष्य समेत बिग्रिनेस्थिति आइसकेको छ । त्यसैले यसको वैकल्पिक पेसाको खोजी गरिरहेको समेत किरणले बताउनुभयो ।

पहिले जस्तो राम्रो माटो पाउन छोडेकोले भाँडाको गुणस्तरमा ह्रास आएकाले माग घट्दै गएकाले बजार खस्किन्दै गएको हो । माटोका भाँडाको ठाउँ प्लास्टिकका भाँडाले लिइरहेका कारण कुमाले पेसामा आश्रित भइरहेका कुमालेको रोजीरोटी समेत गुम्ने अवस्था सिर्जना
भएको छ ।

ज्यानको बाजी लगाएर कालोमाटो निकाल्छौ, छमहिना अगाडिदेखि माटो थन्को लगाउँछौ र त्यही माटोबाट भाँडा बनाउँछौ तर भाँडा बिक्री हुँदैन । आफ्नो परम्परागत पेसा भनेर के गर्ने जीवन धान्न साह्रै मुस्किल हुँदै आएको निकोसेराका प्रजापती बताउँछन् । माटोको भाँडा बिक्री वितरणमा ह्रास आउनुको प्रमुख कारण उपभोक्ताले माटोको भाँडा प्रयोग गर्दाको लाभ र यसका गुण थाँहा नहुँनाले माटोको सट्टा प्लास्टिकका सामान रुचाउनु हो ।

जसले गर्दा माटोको भाँडा प्रयोग गर्दाका लाभ उपभोक्तालाई जानकारी दिनुपर्ने अति आवश्यक छ । केही समययता विदेशी पर्यटको आवागमनमा वृद्धि हुनथालेपछि भक्तपुरका प्रजापतिले बनाइएका माटोका स–साना मूर्ति, पशुपक्षी, जनावर, पुतलीलगायतका पर्यटकीय आकर्षणका सामान भन्ने बिक्री हुने गरेको व्यवसायी बताउँछन् ।

भाँडा बनाउने प्रजापतिको पूखाँैली पेसालाई जीवन्तता दिन प्रजापतिले समय सापेक्ष नयाँ–नयाँ वस्तु उत्पादन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

सरकारले प्रजापतिको यो पेसालाई जीवन्तता दिन तथा नयाँपुस्तालाई अभिप्रेरित गर्न विशेष प्याकेज कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।