9/14/11

तान्त्रिक विधिद्धारा पुजा गरिने मुकुन्डो बनाउने पेशा संकटमा

तान्त्रिक नाचको शहर भनेर चिनिने भक्तपुरको प्रसिद्ध ऐतिहासिक तान्त्रिक नाच नवदुर्गाको मुकुन्डो बनाउने पेशा सङकटमा परेको छ ।

नेपालीहरुको महान् चाड विजया दशमीको दिन बह्मायणी पिठमा तान्त्रिक विधि अनुसार पुजा गरी भक्तपुर नगरमा मात्रै २१ ठाउँ बाहेक चाँगुनारायण, बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पू, ढुर्खक लगायतका स्थानमा नाच देखाउन बनाउने नवदुर्गाको मुकुन्डो बनाउन आर्थिक अभावका कारण सङकटमा परेको हो ।

साँस्कृतिक तथा धार्मिक परम्परागत रितिरिवाज चलाउन प्रत्येक वर्ष निर्माण गरिने नवदुर्गाको मुकुन्डो आर्थिक अभावको कारण समय मै तयार हुन नसक्ने अवस्थाले परम्परागत नाच लोप हुन  लागेकोमा स्थानिय बासिन्दाहरु चिन्तित बनेका छन् ।

आयस्रोतको नाममा केही छैन धर्म सँस्कृतिको काम भएर मात्र विगत ५० वर्षदेखि नवदुर्गाको मुकुन्डो बनाउने पेशा अपनाउँदै आएका पुर्ण चित्रकार बताउनुहुन्छ जसोतसो रुपमा काम गरिरहेको छु  । घर परिवारले यो पेशा छोड् भन्दा भन्दै यहाँसम्म आईपुग्दा समेत स्थानिय निकायबाट आवश्यक आर्थिक सहयोग पाउन नसकेको दुःख व्यक्त गर्नुभयो । “के गर्ने प्रत्येक वर्ष चन्दा मागेर परम्परा धानिरहेको छु । मुकुन्डो घण्टाकर्ण पर्वका दिनदेखि महानवमीसम्म बनाइसक्नुपर्ने हुन्छ ।

एघार महिनासम्म टिक्ने खालको बलियो रुपमा बनाउनुपर्ने मुकुन्डो बनाउन बह्मकुण्डल खोलाको किनारमा पाइने कालो माटोबाट बनाइन्छ । महादेव, गणेश, बह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, त्रिपुरासुन्दरी, सिम्ब, दुम्ब र श्वेत भैरबगरी जम्मा १३ देवगणको मुकुन्डो तयार गर्न कालो माटो धुलो बनाई कालो मास र मैदाको माड कपाससहित माटो मुछेर मुकुन्डो तयार गरिन्छ ।

मुकुन्डो तयार गर्न १ लाख २३ हजार रुपैयाँ खर्च लाग्ने जानकारी दिँदै चित्रकारले मुकुन्डो बनाउन खेलकुद तथा संस्कृति मन्त्रालयबाट १८ हजार र गुठी संस्थानबाट १२ हजार रुपैयाँ आउँछ अरु कहीँकतैबाट आउने स्रोत छैन अनी आफुसँगसगै परिवारलाई समेत भोको पेट राखेर मुकुन्डो तयार गनुपर्ने बाध्यताले परिवारिक किचलो समेत खेप्दै आएको बताए । मुकुन्डो मात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुन्डो बनाउनलाई माटोको पुजा गर्न आउने बाजाटोलीलाई समेत भोजन गराउनुपर्ने बाध्यता छ । यदि नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले वर्षेनी मुकुन्डो बनाउनका लागि अक्षयकोष वा उचित आयस्ताको बन्दोबस्त गर्न चित्रकारले माग गर्नुभयो । नसकेमा म पछिको पुष्टाले मुकुन्डो बनाउने पेशा छोड्ने चित्रकार बताए ।

हातमा रहेको कलाको निपुणताले नै नवदुर्गा नाच आजसम्म जीवन्त रहेको छ । तन्त्र प्रधान नवदुर्गा नाचको पछाडी तन्त्रको ठुलो भुमिका रहेको सस्कृतिविद्हरु बताउँछन् । नवदुर्गा भवानीका रुपमा नगरको बस्ती र बासिन्दाको सुरक्षाका लागि स्थापना गराई नेपाल मण्डलका राजा आनन्ददेवले यो प्रचलन बसालेको इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

इतिहास तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार तन्त्रप्रधान नवदुर्गा नाचको क्रममा हाउभाउ नृत्य प्रस्तुत गर्दा नित्यको पछाडि तन्त्रको ठुलो भुमिका रहेको छ । मानिसको जन्ममृत्यु भएजस्तै नवदुर्गाको पनि जन्ममृत्यु हुने हुँदा नवदुर्गा नाच संस्कृतिको एउटा अभिन्न अङग बनेको छ ।

नवदुर्गाको मुकुन्डो राख्नका लागि देवगृह बनाउन भक्तपुर नगरपालिकाले करोडौ रुपैयाँ खर्च गर्यो तर नवदुर्गाको मुकुन्डो बनाउने कलाकारलाई भने कसैले वास्ता गरेको छैन भन्दै ग्वंगले देवगृह भएर के गर्ने त्यस गृहमा शोभा बढाउने मुकुन्डो बनाउने मानिस छैन भने देवगृहको के अर्थ रह्यो र ? “ पुर्खाले सिर्जेको सम्पति हाम्रो कला र संस्कृति ” भन्ने मुल नाराका साथ अगाडि बढिरहेको भनपाले यसप्रति विशेष चासो दिनुपर्छ । आफ्नै मौलिक नाचको संस्कृति र परम्परालाई जीवन्तता दिन र बचाइ राख्न मुकुन्डो बनाउने कामका लागि सम्बन्धित निकाय, सङघ संस्थाले उचित आयस्रोतको व्यवस्था गनुपर्ने अति आवश्यकता देखिएको ग्वंगले बताए ।

गुठी संस्थान कार्यालयका प्रमुख अच्युतानन्द घिमिरेले धार्मिक तथा साँस्कृतिक महत्व बोकेको भक्तपुरलाई जीवन्त राख्ने प्रसिद्ध तान्त्रिक नवदुर्गा नाचलाई जीवन्तता दिन कार्यालयले मुकुन्डो बनाउने चित्रकारलाई सक्दो सहयोग गर्दै आईरहेको बताए ।

No comments:

Post a Comment